काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पम्फा भुसालले आफू प्रत्यक्ष र समानुपातिक उम्मेदवार नबन्ने बताएकी छन् ।
'अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ,' उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेकी छन् ।
अरु नेता पनि नदोहरिनु उचित हुने भन्दै उनले लेखेकी छन्, 'राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।'
सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचनमा आफूलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट प्रस्ताव आए पनि त्यसलाई स्वीकार नगरेको उनको भनाइ छ । 'तत्कालीन माओवादीको तर्फबाट दुईपटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ । त्यसमाथि पनि काठमाडौं उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलामको चिउरा चपाउनुजस्तै हो,' उनले भनेकी छन् ।
भुसाल दुईपटक प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् भने उनले पटकपटक मन्त्री भएर काम गर्ने अवसर पाइसकेकी छन् ।
उनले यसपटक पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने पनि बताएकी छन् । 'अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ,' भुसालको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।