काठमाडौं – क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिवन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक च्यान मिन चिङ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार फरार अवस्थामा रहेका उनलाई परिसरको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो ।
उक्त क्यासिनोमा डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर इभेन्ट आयोजना गरिएको थियो । महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेको र चिप जडित ताज र विशेष प्रकारको लेन्सको जोहो गरेको प्रवक्ता भट्टराईले पत्रकार सम्मेलनमा बताए ।
पक्राउ परेका व्यक्तिका साथबाट प्रहरीले नेपाली र भारतीय रूपैयाँ, चिप जडित तास, लेन्स, हवाई टिकटलगायतका सामान बरामद गरेको छ । वाल्डो क्यासिनोले समेत कानून उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरेर आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।