काठमाडौं– भारतमा कोभिड १९ महामारीका क्रममा करोडौ मानिसलाई खोप लगाइएको थियो। भारतको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार सन् २०२५ को डिसेम्बरसम्म २ अर्ब २० करोडभन्दा बढी कोरोना विरुद्धको खोपको डोज लगाइएको छ।
कोभिड भ्याक्सिनसँग सम्बन्धित एम्स दिल्लीको एक नयाँ अध्ययन बाहिर आएको छ। जसले भन्छ, ‘युवाहरुमा भइरहेको अचानक मृत्युको कोभिड भ्याक्सिन या संक्रमणसँग कुनै सम्बन्ध छैन।’
विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार २०२४ का अन्त्यसम्म विश्वभर १३ दशमलव ६४ अर्बभन्दा बढी कोभिड भ्याक्सिनको डोज लगाइएको छ। डब्लुएचओले आज पनि भ्याक्सिनको सिफारिस गर्दछ। हृदयघातको पछाडी मुटु सम्बन्धी रोगहरुलाई नै प्रमुख कारण मानिएको एम्सको अध्ययनले देखाएको छ।
भ्याक्सिन र मृत्युबीचको सम्बन्धमा गरिएको अध्ययनले के भन्छ ?
एम्स दिल्लीका प्याथोलोजी र फोरन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म एक वर्षको अटोप्सीमा आधारित अध्ययन गरेको छ।
यसको शिर्षक हो, ‘युवा वयस्कमा अचानक मृत्युको बोझः भारतको एक ठूलो अस्पतालमा एक वर्षसम्म गरिएको अध्ययन।’
यो अध्ययन इण्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित भएको छ। जुन इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को प्रमुख जर्नल हो।

अध्ययनमा ट्रमा, आत्महत्या, हत्या र लागू औषधका कारण हुने मृत्यलाई छोडी अचानक हुने मृत्युका घटनाहरुको मात्र विश्लेषण गरिएको छ। कुल ९४ युवा (१९ देखि ४५ वर्ष) र ६८ वृद्धवृद्धा (४६ देखि ६५ वर्ष) का व्यक्तिहरुको अचानक भएका मृत्युहरुको जाँच तथा विश्लेषण गरिएको हो। युवाहरुको औसत उमेर ३३ दशमलव ६ वर्षको भनिएको छ। एम्स अध्ययनका अनुसार युवाहरुको मृत्युको प्रमुख कारणहरु निम्न बताइएको छ :
- मृत्यु सम्बन्धी रोग (कार्डियो भास्कुलर डिजीज) सबैभन्दा ठूलो कारण। युवाहरुमा करिब दुई तिहाई मृत्युको कारण
- कुल मृत्युमा ८५ प्रतिशत एथेरोस्क्लेरोटिक कोरोनरी आर्टरी डिजीज पाइएको छ अर्थात् मुटुको नशामा ७० प्रतिशतभन्दा बढी ब्लकेज
- सबैभन्दा बढी प्रभावित नशा – लेफ्ट एन्टीरियर डिसेन्डिंग आर्टरी, त्यसपछि राइट कोरोनरी आर्टरी
- युवाहरुको मृत्युको एक तिहाई मामलामा दोस्रो कारण श्वासप्रश्वाससँग जोडिएको रोग। जस्तै, निमोनिया, टीबी पाइएको छ।
- युवाहरुमा मद्यपान र धूम्रपानको लत
साथै करिब २० प्रतिशतको मृत्युको कुनै यकिन कारण नभेटिएको अध्ययनमा उल्लेख गरिएको छ। अटोप्सी गरेपछि पनि यी मृत्यु के कारणले भएको हो भन्ने यकिन नभएको बीबीसीले उल्लेख गरेको छ। कोभिड संक्रमणको इतिहास या भ्याक्सिनको अवस्था र अचानक मृत्युबीच कुनै सम्बन्ध नरहेको यस अध्ययनले दाबी गरेको छ।
अध्ययन माथि प्रश्न
पुणेका डीवाई पाटिल मेडिकल कलेज, कम्युनिटि मेडिसिन विभागका चिकित्सक एवं एमेरिटसका प्रोफेसर डा अमिताभ बनर्जीले यस अध्ययन माथि प्रश्न उठाएका छन्।
उनी भन्छन्, ‘अध्ययनमा करिब २० प्रतिशतको मृत्युको कारण पत्ता लागेको छैन। के यो अज्ञात मृत्युमा कोभिड भ्याक्सिनको कनै भूमिका त छैन ? एम्सले यसलाई अझै गहिराईसँग जाँच गर्नुपर्ने थियो।’
यद्यपि यी मृत्युको घटनामा औसत उमेर ३० दशमलव ५ वर्षको रहको एम्सको अध्ययनमा भनिएको छ। यसमा सबैभन्दा धेरै ३० देखि ४० वर्ष उमेरको ५० र २० देखि ३० उमेरको ४० प्रतिशत मानिस थिए।
आधा केसमा जब मुटुको टिस्युको जाँच (हिस्टोप्याथोलोजी ) गरियो, तब उनीहरुको मुटुमा केही हल्का परिवर्तन भेटियो। जस्तो की मुटुको मांसपेशीहरु थोरै मोटो हुनु, धमनीहरुमा चर्बीको पातलो तह जम्नु वा मुटुको स साना भागहरुमा रगतको हल्का कमी भएको संकेत देखिएको थियो।
अध्ययनले भन्छ, 'यी परिवर्तनहरु यति गम्भीर पनि थिएनन् की मृत्यको सिधा कारण बन्न सकोस्।'
डा अमिताभ बनर्जी भारतमा प्रयोग गरिएको कोभिशिल्ड भ्याक्सिनको सन्दर्भमा भन्छन्, 'युरोपको कयौँ देशहरुले कोभिसिल्ड भ्याक्सिनलाई दुर्लभ तर गम्भीर साइड इफेक्ट (ब्लड क्लट्स र भीआइटीटी) का कारण अस्थायी रुपमा निलम्बिन गरेको थियो। विशेषगरी युवाहरुमा हुने यी जोखिमका कारण।'
उनी एस्ट्राजेनेकाको भ्याक्सिनको उत्पादन बन्द हुनुप्रति पनि प्रश्न उठाउँछन्। कोरोनाको खोप बनाउने फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकाले करिब एक वर्ष पहिले भ्याक्सिनका कारण गम्भीर साइड इफेक्ट हुन सक्ने स्वीकार गरेको थियो।
उक्त कम्पनीले ब्रिटेनको उच्च अदालतमा भ्याक्सिनका कारण केहीलाई थ्रोम्बोसिस विद थ्रोम्बोसाइटोपेनिया सिंड्रोम (टीटीएस) जस्ता स्थिति हुन सक्ने स्वीकार गरेको थियो। एस्ट्राजेनेकाले भारतमा सीरम इन्टीच्युट अफ इण्डियासँग मिलेर कोभिशिल्ड तयार गरेको थियो।
डा अमिताभ बनर्जी थप्छन्, 'यसका साइड इफेक्ट अत्यन्तै दुर्लभ हुन्छन्। दुर्लभमध्ये पनि दुर्लभ। तर करोडौँ मानिसमा ठुलो स्तरमा प्रयोग हुँदा प्रभावित हुने व्यक्तिको संख्या भने धेरै देखिन सक्छ।'
एम्स दिल्लीका प्याथोलोजी प्रोफेर र अध्ययनका सह लेखक डा सुधीर अरावाले युवाहरुमा हुने अचानक मृत्युको कारण कोभिड भ्याक्सिन नभएको स्पष्ट रहेको उनले बताएका छन्। भारतमा युवाहरुको यस किसिमको मृत्यु माथि धेरै अध्ययन भएको छैन। यस अध्ययनमा यी मृत्युहरु कोभिडसँग सम्बन्धित नरहेको उनले बताए।
यद्यपि एम्स अध्ययनमा युवाहरुको अचानक मृत्युको प्रमुख कारण मुटुसँग जोडिएको रोगलाई मानिएको छ। त्यसपछि श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु पनि। मुटु सम्बन्धी रोगका कारणमा ८५ प्रतिशत केसमा धमनीको चर्बी जम्नु (कोरोनगरी आर्टरी डिजीज) बाट ह्रदयघात हुनु प्रमुख कारण बताइएको छ।
अध्ययनमा भनिएको छ, 'भारतमा पहिले पनि मुटुसँग सम्बन्धित रोगहरु हुने गर्दथे। तर अब यो समस्या कम उमेरका व्यक्तिहरुलाई पनि भइरहेको छ। यसको पछाडी तीन 'S' को हात छ। स्ट्रेस, स्लीप (निद्राको कमी) र स्मोकिंग।'
भारतमा युवाहरुमा मुटु सम्बन्धी रोग तिव्र गतिमा बढ्नुमा तनाव, अस्वथकर जीवनशैली, कम व्यायाम जिम्मेवार रहेको अध्ययनले देखाएको छ। स्वास्थ्य शिक्षा, नियमित जाँच र स्क्रीनिंगबाट यी मृत्युहरु रोक्न सकिने अध्ययनको निष्कर्ष छ।
- बीबीसी हिन्दीबाट साभार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।