काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एउटा असल अभ्यास भएको बताएका छन् ।
बुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सुरक्षा गोष्ठी उद्घाटन गर्दै अर्यालले भने- ‘निर्वाचन अपरिहार्य व्यवस्था भएको हुनाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्याई शासनको वैधानिकता प्रदान गर्छ ।’
निर्वाचनविना मुलुकमा सुशासन कायम गर्न कठिन हुने उनले बताए । उनले भने– ‘निर्वाचन नभए देश थप अस्थिरतातर्फ धकेलिन सक्छ ।’ जेनजी जनआन्दोलन गरेका पुस्तालाई बाइपास गरेर जान नसकिने मन्त्री अर्यालले बताए । उनले भने- ‘सुशासन दिन सकिएन भने, विद्रोहको अवस्था सिर्जना हुन्छ ।’
पुस ७ मा भएको सर्वपक्षीय छलफलबाट आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनेको अर्यालले बताए ।
गोष्ठीमा कर्णालीका १० वटै जिल्लाहरूबाट जिल्ला सुरक्षा समितिका पदाधिकारीले प्रदेशगत सुरक्षा चुनौतीका सम्बन्धमा घनिभूत छलफल गर्दै जिल्लागत प्रस्तुतीकरण हुने कार्यक्रम रहेको छ । यस प्रदेश अन्तर्गत हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत पर्दछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।