काठमाडौँ – सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले नेपाली काँग्रेसको पार्टी कार्यालयको निरीक्षण गरेको छ ।
विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको काँग्रेस पार्टी कार्यालयको निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा समितिका सदस्य सञ्चार मन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दलहरूको साथ र सहभागिता अपरिहार्य रहेको बताए ।
सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार गम्भीरताका साथ अघि बढिरहेका उनको भनाइ छ । जेन जेड आन्दोलनका क्रममा पार्टी कार्यालय ध्वस्त भएको अवस्थामा पनि दलहरूको साथ रहेको भन्दै उनले आगामी चुनाव सुनिश्चित गर्नका लागि दल र सरकारबीच दोहोरो संवादको प्रयास गरिएको धारणा राखेका छन् ।
त्यस्तै समितिका संयोजक कानून मन्त्री अनिल सिन्हाले आन्दोलनका क्रममा पार्टी भवनमा क्षति पुगे पनि मुलुकलाई निकास दिन दलहरूको भूमिका अपरिहार्य हुने बताए । उनले चुनावलाई सहज रूपमा अघि बढाउनका लागि दलहरूको अपेक्षा पुरा गर्न सरकार तयार रहेको उल्लेख गरेका छन् ।
छलफलका क्रममा काँग्रेस उपसभापति धनराज गुरुङले पार्टी चुनावबाट नभाग्ने भन्दै निष्पक्ष र सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले चुनावको रटान लगाए पनि तयारीमा केही कमजोरी भएको महसुस भएको उनले बताए । गुरुङले सरकारसँग सहमति गरेका युवाहरूले नै चुनाव हुन दिन्नौ भनेर हिँडेको भन्दै उनीहरूलाई समेत विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।
त्यसैगरि उनले सुरक्षा निकायको मनोबल उच्च बनाउँदै फागुन २१ लाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे । दलहरू र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । समितिमा सञ्चार मन्त्री खरेल, कानून मन्त्री सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।