काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्ने बताएकी छिन् ।
निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफमा प्रधानमन्त्री कार्कीले देशको सर्वैसर्वा भनेको जनता नै रहेको भन्दै राजनीतिक दलभित्र आफ्नो तनाव जनतालाई पोख्न नहुने समेत बताइन् ।
उनले जनताको भावना अनुसार नै राजनीतिक दलहरु चल्न सक्नुपर्ने र कसैले पनि मेरो गोरुको बाह्रै टक्का गरेर नहुने धारणा राखिन् ।
राम्रा गरेको दललाई चयन गर्ने अधिकार जनतालाई रहेको भन्दै प्रधानमन्त्री कार्कीले जनताको भावना अनुसार राजनीतिक दलहरु अघि बढ्न सुझाव दिइन् ।
उनले राजनीतिक दलको गीत गाएर मात्रै नहुने भन्दै सवैले देशको विकासका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले सुशासनका लागि पनि वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको दाबी गरिन् ।
उनले निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुबाट सकारात्मक सुझाव र सहयोग प्राप्त भएकाले निर्वाचनको वातावरण बन्दै गएको उल्लेख गरिन् ।
यस्तै नेकपा एमालेले फागुन २१ गते निर्वाचन हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको जनाएको छ । छलफलका क्रममा एमाले सचिव महेश बस्नेतले फागुन २१ गते हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको बताए ।
उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने एमालेको निष्कर्ष रहेको सुनाए । पुराना दललाई गाली गरेर निषेध गरेर, स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने उनको भनाइ छ । उनले सरकारले लोकतान्त्रिक अभ्यास मिचेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाए ।
त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले फागुन २१ गतेभन्दा कुनै तलमाथि नगर्न सरकारलाई सुझाव दिँदै उचित वातावरण बनाउन सुझाव दिए । निर्वाचन भनेर मात्रै नहुने भन्दै उनले जनताले विश्वास गर्नेगरि सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको भन्दै निर्वाचनलाई धकेल्ने प्रयास नगर्न आग्रह गरे । उनले सवै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।
त्यस्तै अन्य दलका नेताहरुले वर्तमान सरकारको म्याण्डेड चूनाव भएकाले चूनावलाई असर पर्ने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।