काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न आएको जवाफ दिएका छन् ।
काठमाडौँ जिल्ला अदालतमा सोमबार मुद्दाको तारिख बुझ्न गएका उनले ओलीको गुन तिर्न आएको बताएका हुन् ।
ओलीले आइतबार एक टेलिभिजन अन्तरवार्तामा आफूले रविलाई गुन लगाएको तर गुन बिर्सिएर त्यतिकै रिसिइबी लिएको बताएका थिए ।
‘केपी ओलीजीले गुन लगाएको भन्नु भएको छ । खुब गुन लगाउनुभएको छ । उहाँले लगाएको गुन तिर्न आएको छु’, अदालत परिसरमा सञ्चारकर्मीसँग उनले भने।
ओलीकै कारण सातवटा जिल्ला अदालतमा एक हप्ताभित्र तारिख बुझ्नुपर्ने बाध्यता भएको उनले बताए । मुद्दाका कारण जिउमा ठाउँ ठाउँमा किला ठोकेको जस्तै भएको रविले गुनासो पोखे ।
उनले भने– ‘सबै जिल्लामा सातै दिन म जानुपर्नेछ । जिउमा ठाउँ ठाउँमा किला ठोकेको जस्तो भा’छ । आज यहाँ आएँ । अब सात दिनभित्र सबै अदालतमा गएर मैले हाजिरी गर्नुपर्ने हुन्छ । तारिक अर्काले लिइसकेको होला, त्यो मिलाउनुपर्ने हुन्छ । दौडादौड यस्तै चलिराखेको छ । विष शरीरभरि अझै बाँकी नै छ । अन्य जिल्लातिर पनि जानु छ । त्यसको तयारी गरेको छु ।’
ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको तत्कालीन गठबन्धन सरकारले रविमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको थियो।
उच्च अदालत बुटवल इजलासको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका उनी सोही अदालतको आदेशमा गत शुक्रबार २ करोड ६८ लाख धरौटी बुझाएर रिहा भएका थिए । रविको काठमाडौँ, कास्की, चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।