काठमाडौं– एमसीए-नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
सोमबार काठमाडौंमा एमसीए-नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयन क्रममा पूर्व-पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।
यसैगरी एमसीए-नेपालले हालै उक्त सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट-मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग सम्झौता गरेको छ ।
आयोजना अन्तर्गत पूर्व-पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नति क्रममा सात मिटरको क्यारिज वे र २.५ मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।