काठमाडौँ– देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् ।
सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरवारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका छन् ।
उनका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या ११४ पुगेको छ ।
गत २०७९ सालको निर्वाचनमा ८७ दलहरूले निर्वाचनमा भाग लिएका थिए । उनले दलहरूको संख्या बढेको कारण निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारी समेत दिए । उनले निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरू आयोगले पहिचान गरेको जानकारी समेत दिएका छन्।
ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरू जिल्लास्तरबाट नै खरिद गर्ने र बाँकी १४ वटा सामग्रीहरू मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउने गरी काम भइरहेको उनले जानकारी समेत दिए । उनले पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँचीलगायतका सामग्रीका सम्बन्धमा अपुग सामग्री मात्र खरिद गर्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिए ।
उनले मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय एवं सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको समेत जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।