काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्षतर्फ एक जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी गरेको छ ।
संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेन–जी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने ।’ यो निर्देशनमा सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए–नभएको खुलाउने र सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने पनि उल्लेख गरिएको छ ।
निर्देशनमा राष्ट्रिय सभाका लागि प्रदेशले यसपटक निर्वाचन हुने प्रत्येक क्लस्टरबाट बढीमा ५–५ जना सिफारिस गर्न भनिएको छ । त्यस्तै माघ ११ मा हुने समानुपातिक निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्न निर्देशन छ ।
‘एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना सिफारिस गर्ने । सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने,’ नेकपाले भनेको छ, ‘उपत्यका विशेष प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने । प्रवास प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने । जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने ।’
उम्मेदवार सिफारिस गर्दा संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्नुपर्ने विधि बनाएको छ । ‘शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने । एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने,’ उसले भनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।