काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् ।
जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो ।
उनको सचिवालयले आज (आइतबार) बिहान जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा महत्त्वपूर्ण विचार-विमर्श गर्नेछन्।
यस्तै उनले भारतको प्रतिष्ठित संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा ‘साउथ एसियाज् डेमोक्र्याटिक फ्युचर : युथ, टेक्नोलोजी एन्ड इन्क्लुसिभ डेमोक्रेसी’ विषयमा ‘किनोट स्पिच’ दिनेछन् भने नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभ (एसएएफपीआई) ले आयोजना गर्ने विशेष कार्यक्रममा प्रमुख वक्ता बन्ने विज्ञप्तिमा उल्लेख छ।
उनी पुस ९ गते नेपाल फर्किने तालिका छ ।
डा. भट्टराईको यो भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक सम्वादलाई थप सुदृढ बनाउने स्वकीय सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।