काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले आउँदै गरेका प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा कडा नीति अपनाएको छ।
निर्वाचनका लागि उम्मेदवारको योग्यता र मापदण्डसम्बन्धी आन्तरिक सर्कुलर जारी गर्दै उसले उम्मेदवारको योग्यता र मापदण्डमा कडाइ गरेको हो।
पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।
परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले कम्तीमा २५ र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ। भ्रष्टाचार, सामाजिक अपराध वा आर्थिक अस्वच्छतामा दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन्। कर–राजश्व अद्यावधिक र सम्पत्ति–आय स्रोत स्पष्ट गर्न तयार हुनु अनिवार्य शर्त राखिएको छ ।
सामाजिक रूपमा पनि जातीय–लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन वा मानव बेचबिखनमा दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न नपाउने प्रावधान छ । राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रममा पूर्ण प्रतिबद्धता, आन्दोलनमा निरन्तर योगदान र जनप्रियता अनिवार्य मापदण्ड हुन्।
‘अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने, जातीय, लैंगिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभावसम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने, घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने’, आन्तरिक सर्कुलरमा भनिएको छ, ‘हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने।’
नेकपा नेतृत्वले यी मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ र जनमुखी उम्मेदवार मात्र मैदानमा उतार्ने प्रतिवद्धता जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।