बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताएका छन्।
शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन्।
उनले अहिले आफ्नो बोल्ने समय नआएको समेत बताए। अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने समेत उनले बताए।
‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भने, ‘यिनीहरूले यो देश माथि गरेको अन्यायको अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ। त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौंला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।’
लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा छोड्न आदेश दिएको थियो।
बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।