काठमाडौँ – नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्।
लगातार तेस्रो कार्यकाल पार्टी अध्यक्षमा निर्वाचित हुँदै ओलीले ‘ह्याट्रिक’ गरेका हुन्।
यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए।
२०७१ साल असारमा भृकुटीमण्डपमै भएको नवौँ महाधिवेशनमा ओलीले अध्यक्ष पदमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले पराजित गरेका थिए । त्यतिबेला ओली १ हजार ४७ मत प्राप्त गरी विजयी हुँदा नेपालले एक हजार ३ मत पाएका थिए ।
२०७८ साल भदौमा एमाले विभाजन भएपछि चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा ओलीले सर्वसम्मत अध्यक्ष बन्न चाहे पनि पूर्वउपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिएपछि मतदान प्रक्रियामा जानु परेको थियो । त्यस महाधिवेशनमा ओली एक हजार ८३७ मत ल्याएर विजयी हुँदा रावलले २२३ मत प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन्। मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।