काठमाडौं– जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्रीसँग छलफलका लागि समय लिइएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा जाँचबुझ आयोग गठन भएको थियो। आयोगको म्याद तीन महिना तोकिएको थियो। म्याद सकिन लाग्दा पनि बयान लिने क्रम नै जारी रहेकाले आयोग पदाधिकारीहरुले थप समय माग गरेका छन्।
त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लगायत राजनीतिक दलका नेताहरुलाई बयानमा बोलाउने तयारी भएको जानकारी पनि दिए।
जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।