काठमाडौं– सिनामंगल, बत्तीस पुतली आसपासका सेकुवा कर्नरमा मान्छे पिट्दै हिँड्ने ‘टोले गुण्डा’ रेश लामालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ।
भदौ ४ गते बत्तीसपुतलीस्थित बाजेको सेकुवा रेष्टुरेण्टमा एकराज कार्की नामक व्यक्तिमाथि हातपात गरेर उनी फरार थिए। दोलखाको बैत्येश्वर गाउँपालिका- ३ स्थायी ठेगाना भएका उनको वास्तविक नाम गोपाल मोक्तान हो।
युवकको जाहेरीको आधारमा उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो। आरोपी बिरुद्ध प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ। लेनदेन विवादमा लामाले युवकलाई कुटपिट गरेका हुन्।
यसअघि पनि रकम असुलीको उद्देश्यले विभिन्न व्यक्तिलाई हातपात गर्नेलगायतका अभद्र व्यवहारमा उनी सक्रिय थिए।
पटक पटक प्रहरीमा उजुरी परे पनि घटनापछि भाग्दै हिँड्ने गरेका उनलाई प्रहरी वृत्त, गौशालाको टोलीले सिनामंगलबाट नियन्त्रणमा लिएको हो।
उनका विरुद्ध अभद्र व्यवहार मुद्दामा सोमबार म्याद थप गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतले बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।