काठमाडौँ– सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ।
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा पर्साको वीरगंजसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएकाे खानेपानी संकट,धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।
मधेश प्रदेश अहिले खडेरी र सुक्खाको मारमा परेको छ। भूमिगत पानीका स्रोतहरु इनार, ट्युबवेलमा पानी नआउँदा स्थानीय समस्यामा छन्।
यस अघि मधेस प्रदेश सरकारले पनि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।