काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो काण्डमा विवादित भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई छलफलको लागि बोलाएको छ।
आयोगका एक अधिकारीका अनुसार उनलाई भोलिसम्म अख्तियारमा हाजिर हुन बोलाइएको हो।
‘उहाँलाई उपस्थित हुनु भनेर आयोगमा बोलाइएको हो, अनुसन्धान टोलीले उहाँसँग सोधपुछ गर्नेछ,’ती अधिकारीले , ‘त्यसक्रममा उहाँको आवाजको नमुना पनि लिने योजना छ।’
अख्यितारका एक कर्मचारीका अनुसार भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिएका गुप्तालाई सोधपुछ‘ इन्क्वायरी’ को लागि बोलाइएको हो।
ती अधिकारीले भने, ‘आवाज रेकर्ड गर्न उहाँसँग अनुमति लिइन्छ, अनि सोधपुछकै सिलसिलामा रेकर्ड भएको आवाज केही दिनअघि सार्वजनिक भएको आवाजसँग परीक्षण हुन्छ।’
गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवाबारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको संवाद बाहिरिएको थियो। चौतर्फी दबाब परेपछि उनले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।