काठमाडौँ– निजामती विधेयकमा भएको भनिएको गडबडीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई प्रमुख चार राजनीतिक दलका मुख्य र प्रमुख सचेतकहरूले सुझाव दिएका छन्।
छानबिन समितिले सोमबार नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका प्रमुख श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएको थियो।
काँग्रेसका प्रमुख सचेतक घिमिरेको डेढ मिनेट जति मात्रै बोले। निजामती विधेयकमा धेरैको चासो रहेको र यो स्वाभाविक भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘तपाईँहरूको निष्कर्ष मान्छौँ।’
एमालेका मुख्य सचेतक बर्तौलाले गल्ती पत्ता लगाउन समितिलाई सुझाए। उनले भने, ‘निजामती विधेयकमा भएको गडबडी ह्युमन इरर हो कि इन्टेन्सेन हो पत्ता लगाउनुहोस्।’
काँग्रेसका प्रमुख सचेतक घिमिरे र एमालेका मुख्य सचेतक बर्तौला कुलिङ पिरियड चाहिन्छ वा चाहिँदैन भन्ने विषयमा प्रवेश गरेनन्।
माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे र रास्वपाका प्रमुख सचेतक परियारले भने ‘कुलिङ पिरियड लागू हुन नदिने गरी षडयन्त्र भएको’ दाबी गरेका छन्।
माओवादी प्रमुख सचेतक पाण्डेले भनेका छन्, ‘यहाँ उच्च पदस्थ कर्मचारीको संलग्नता छ, यो छेडखानी हो। दोषीलाई कडा कारबाहीका लागि सिफारिस समितिबाट होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।