नेपाली राजनीति प्रायः निराशा र अवसरवादी गठबन्धनको पर्यायवाची बन्न पुगेको छ। तर, कहिलेकाहीँ यही भीडमा एउटा यस्तो आवाज गुञ्जिन्छ, जसले हरेक पुस्तालाई परिवर्तन सम्भव छ र त्यसका लागि लड्न सकिन्छ भन्ने विश्वास दिलाउँछ। गगन थापा त्यस्तै आवाजका एक प्रतिनिधि पात्र हुन्। उनी केवल एउटा नाम होइनन्, उनी एक दृष्टिकोण हुन्— युवाहरूका लागि एउटा सन्देश कि हिम्मत, अध्ययन र दूरदृष्टिले राजनीतिलाई स्वच्छ र जनमुखी बनाउन सकिन्छ।
गगन थापाको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि सुरु भएको सर्वविदितै छ। त्रिचन्द्र कलेजको प्राङ्गणभित्र राजनीतिक नाराहरू मात्र गुञ्जिरहेका थिएनन्, त्यहाँ नयाँ नेतृत्वको बीउ पनि उम्रिरहेको थियो। त्यही बीउ नै आजको गगन थापा हुन्। उनले विद्यार्थी राजनीतिमा छँदै स्पष्ट पारिसकेका थिए कि राजनीति कुर्सीका लागि नभई विचार र नीति निर्माणका लागि हुनुपर्छ। त्यसैले, उनी जुनसुकै आन्दोलनमा पनि अग्रपङ्क्तिमा देखिन्थे र आवाज बुलन्द पार्न कहिल्यै पछि हटेनन्।
उनी स्वास्थ्य मन्त्री हुँदा उनको कार्यशैली अझै धेरैका लागि स्मरणीय छ। त्यो अवधिमा उनले स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने, गैरसंक्रामक रोग नियन्त्रणलाई प्राथमिकता दिने र जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने जस्ता थुप्रै महत्वाकांक्षी कार्यहरू अगाडि बढाए। धेरै योजना अझै अपूरा छन् भन्ने आलोचना हुने नै भयो, तर योजना अघि बढाउन गरिएको उनको इमानदार प्रयत्नलाई भने नकार्न सकिँदैन।
आजको संसदमा गगन थापाले बोल्दा युवाहरूले एउटा महत्त्वपूर्ण कुरा महसुस गर्छन्— अब बहस तथ्यमा आधारित हुन सक्छ। उनी कहिल्यै गफ गरेर ताली बटुल्न चाहँदैनन्, न त कुनै खोक्रो नारा लगाएर जनताको आँखामा छारो हाल्न खोज्छन्। संसदमा बजेट बहसदेखि नीति निर्माणसम्म उनले प्रमाणसहित आफ्ना कुरा राख्छन्। यो गुण आजका धेरै नेतामा दुर्लभ छ।
यद्यपि, यी सबै सकारात्मक पक्षका बाबजुद उनको यात्रा सहज छैन। पुरानो राजनीतिक संरचनाले नयाँ सोच बोकेका व्यक्तिलाई सजिलै स्थान दिँदैन भन्ने कुराको ठोस उदाहरण गगन थापाको कथा नै हो। उनी नेपाली काँग्रेसजस्तो पुरानो पार्टीको महामन्त्री भए पनि पार्टीभित्रको गुट-उपगुटको खेलबाट पूर्ण स्वतन्त्र हुन सकेका छैनन् भन्ने आरोप प्रायः सुनिन्छ। कहिले काँग्रेसको कुन गुटसँग नजिक भएको त कहिले नेताहरूबीचको शक्ति सन्तुलनमा सम्झौता गरेको आरोप उनीमाथि लाग्ने गर्छ।
गगन थापाको अर्को चुनौती नै यही हो— उनीसँग स्पष्ट दृष्टिकोण छ, तर त्यस दृष्टिकोणलाई दीर्घकालीन संस्थागत संरचनामा बदल्ने सामर्थ्य अझै पूर्ण रूपमा विकसित भएको छैन। उनीमाथि युवाहरूको भरोसा त छ, तर त्यो भरोसाले अझै बलियो संगठनमा रूप लिन सकेको छैन। उदाहरणका लागि, धेरैजसो युवाले उनलाई हेर्छन्, मन पराउँछन्, फोटो खिच्छन् र ताली ठोक्छन्, तर वास्तविकतामा अझै उनको पक्षमा बलियो जनमत निर्माण हुन सकेको देखिँदैन। नेपाली राजनीतिमा, विशेषगरी नेपाली काँग्रेसजस्तो पार्टीमा, उनलाई सहजै स्वीकार्ने युवा जमातको कमी देखिन्छ। नेपाली काँग्रेस सुरुवातदेखि नै गुट र उपगुटमा जेलिएको पार्टी हुनु र आफूभन्दा जुनियरलाई सजिलै स्वीकार नगर्नु पनि उनको आगामी यात्रामा ठूलो तगारो बन्न सक्छ।
यति हुँदाहुँदै पनि, उनले पुरानो र जटिल संरचनाभित्र रहेर जे–जति संघर्ष गरेका छन्, त्यो आफैँमा सराहनीय छ। नेपालजस्तो मुलुकमा, जहाँ नेतृत्वको साँचो अझै परम्परागत सोच राख्नेहरूको हातमा छ, त्यहाँ नयाँ सोच लिएर अगाडि बढ्नु भनेको केवल भाषणमा विद्रोह गर्नु मात्र होइन, व्यवहारमै नोक्सान सहेर उभिनु हो। उनले त्यो साहस देखाइरहेकै छन्।
कुनै नेताको कमजोरी लुकाएर प्रशंसा गर्नु सस्तो चाकरी मात्र हुन्छ। गगन थापामा पनि कमजोरी छन्। कहिलेकाहीँ उनी अत्यधिक इमानदार हुन खोज्दा सहकार्य गर्नै नचाहनेजस्तो देखिन्छन्। पुरानो राजनीतिक संरचना केवल इमानदारिताले मात्र चल्दैन, कहिलेकाहीँ कूटनीति र सम्झौताको खेल पनि खेल्नैपर्छ भन्ने कुरा उनले अझै राम्ररी सिक्न बाँकी छ। यसले गर्दा उनकै समर्थक कतिपय बेला निराश हुन्छन्। अर्कोतर्फ, उनीसँगै आएका कतिपय युवा अनुयायीहरू पनि निरन्तर राजनीतिमा टिक्न सकिरहेका छैनन्, साथै उनलाई गुरु मान्दै काँग्रेसको राजनीतिमा आएकाहरू नै उनलाई छोडेर जानुमा नेतृत्व विकासमा उनको कमजोरी देखिन्छ। मेरो विचारमा, उनले नेतृत्व विकासमा अझै बलियो मोडल दिन बाँकी छ।
नेपाली राजनीतिमा एउटा गगन थापा मात्र पर्याप्त छैन भन्ने कुरा बुझ्न जरुरी छ। यदि पुरानो संरचनालाई साँच्चिकै बदल्नु छ भने सयौँ गगन थापा जन्मिनुपर्छ। नेतृत्वमा मात्रै होइन, गाउँ–शहरमा, कलेजका डेस्कमा, पेशागत संगठनमा— हरेक तहमा गगनजस्तो दृष्टिकोण लिएर अघि बढ्ने पुस्ता तयार हुनुपर्छ। साथै, जनताले केवल भोट हालेर जिम्मेवारी पूरा भएको सम्झने बानी पनि परिवर्तन हुनुपर्छ।
गगन थापा आजका युवाहरूका लागि एउटा उत्तर होइन, उनी प्रश्न हुन्। प्रश्न के हो भने: के तपाईं आफैँले राजनीतिलाई परिवर्तनको माध्यम बनाउन हिम्मत गर्न सक्नुहुन्छ? उनी संसदको भाषणमा प्रश्न उठाउँछन्, तथ्य राख्छन्, तर ती तथ्यहरूलाई समाधानमा बदल्ने दायित्व केवल उनको होइन। त्यो जिम्मा हामी सबैको हो।
गगन थापाको यात्रा हेर्दा हाम्रा अग्रजहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूको योगदान पनि सम्झनु पर्छ। हिजोका पुस्ताले जुन लोकतान्त्रिक चेतना जगाए, त्यसलाई सम्हालेर अगाडि बढाउने पुस्ता गगन थापा हुन् भन्नेमा कुनै शंका छैन। तर, यो पुस्ताले राजनीतिक संस्कारमा पनि नयाँ परम्परा बसाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न अझै खुला छ।
पछिल्लो समयमा गगन थापाप्रति जनताको जति आशा र विश्वास छ, त्यो अब उनले प्रमाणित गर्ने समय आएको छ। अबको राजनीतिक बाटो कसरी तय गर्ने भन्ने कुरामा गगन थापा स्पष्ट नै होलान्, तर केही कुरामा देखिएका कमीकमजोरीलाई समयमै सुधार नगर्दा उनको राजनीतिक भविष्य पनि पुराना नेताहरूसँगै मिल्न जानेछ, जुन नेपाली राजनीतिमा दुर्भाग्यपूर्ण साबित हुनेछ।
अन्त्यमा, कुरा यत्ति हो— गगन थापा दूरदृष्टि र परिवर्तनका पक्षधर हुन्, उनीसँगै पुरानो सोचलाई चिर्ने साहस पनि छ, तर त्यो साहस अझै पुरातनवादी चक्रव्यूहभित्र संघर्षरत छ। त्यो जञ्जाल चिर्न उनी मात्रै होइन, हामी सबै जुट्नुपर्छ। गगन थापा एक्लै सबैथोक गर्न सक्दैनन् भन्ने कुरा बुझेरै हामीले सयौँ गगन थापा उत्पादन गर्नतर्फ लाग्नुपर्छ। किनकि यो देश नेतृत्व परिवर्तनबाट मात्रै होइन, चेतना परिवर्तनबाट पनि बाँच्ने हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।