भारत भ्रमणमा रहेका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थितिमा भारत र रुसबीच बहुप्रतिक्षित एस–४०० मिसाइल प्रतिरक्षा प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। दुई दिने भारत–रसिया सम्मेलनका अवसरमा भारत भ्रमणमा रहेका पुटिनको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो।
_x000D__x000D_
सम्झौतापछि भारतले रसियाको पाँच थान एस–४०० प्रतिरक्षा प्रणाली खरिद गर्नेछ। रसियाली राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्रीबीच दिल्लीमा भएको भेटवार्तापछि सो सम्झौतामा हस्ताक्षर भएको हो।
_x000D__x000D_
यसको अलावा पनि भारत र रसियाबीच सहयोगका अन्य क्षेत्रमा पनि सहकार्य गर्ने सहमति भएको छ। सोअनुसार भारत र रसियाले अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा पनि साझेदारी गर्ने बताइएको छ। यसका लागि भारतको एक ‘मोनिटरिङ स्टेसन’ साइबेरिया नजिक रुसको नोवोसिबिर्क शरहमा स्थापना गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
_x000D__x000D_
भारत र रुसबीच भएको यो वार्तालाई विश्वभरबाट चासोका साथ हेरिएको छ। बिहीबार भारतको दुई दिने भ्रमणमा आएका राष्ट्रपति पुटिनलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।
_x000D__x000D_
अमेरिका र पाकिस्तानले भारत र रुसबीच बढ्दै गएको यो मित्रतालाई नजिकबाट हेरिरहेको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन्। पुटिनको भारत भ्रमणभन्दा ठिक अघि अमेरिकाले आफ्ना सहयोगी देशलाई रुससँग कुनै किसिमको महत्वपूर्ण खरिद–बिक्रीको सम्झौता नगर्न सल्लाह दिएको थियो।
_x000D__x000D_
अमेरिकाले आफ्ना सहयोगी देशलाई रुससँग त्यस्तो कुनै पनि खालको सम्झौता गरे प्रतिबन्धात्मक कारबाही गर्नसक्ने सम्मको चेतावनी दिएको थियो।
_x000D__x000D_
अमेरिकी प्रतिबन्धको चेतावनीलाई व्यवास्ता गर्दै भारतले रुससँग मिसाइल प्रणाली खरिदको सहमति गरेको हो। ५ बिलियन अमेरिकी डलरको यो प्रतिरक्षा सम्झौतापछि अमेरिकाले प्रतिबन्ध लगाउनसक्ने सम्भावना उच्च रहेको छ। अघिल्लो महिना रुससँग सैनिक सामाग्री खरिद गरेको भन्दै अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको थियो।
_x000D__x000D_
यो सम्झौतामार्फत भारतले कुनैपनि देशसँग समान किसिमको दुरी, सम्बन्ध र आफ्नो राष्ट्रिय सम्प्रभुताअनुसार सम्झौता गर्न आफूलाई स्वतन्त्रता रहेको जनाउ दिएको हुनसक्ने पनि आँकलन गरिएको छ। त्यसबाहेक सम्झौतालाई भारतले विश्वभर क्रमशः आफ्नो पनि शक्ति विस्तार भएको देखाउन खोजेको रुपमासमेत बुझ्ने धेरै छन्।
_x000D__x000D_
उता चीनको एसिया क्षेत्रमा बढ्दो प्रभावलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्न अमेरिकाले भारतसँग गहिरो मित्रवत सम्बन्ध कायम राखेको छ। ‘एसिया प्यासेफिक’ क्षेत्रको नामलाई परिर्वतन गर्दै अमेरिकाले ‘इन्डो प्यासेफिक’ नामाकरण गरेको छ। भारतलाई खुसी पार्न गरिएको यो प्रयासमा अमेरिकी स्वार्थ लुकेको भारतीय विज्ञहरुको आरोप छ।
_x000D__x000D_

_x000D__x000D_
पुटिनको भारत भ्रमण र दुई देशबीच भएको सम्झौतामा अमेरिकाले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
_x000D__x000D_
गत जुनमा भारत भ्रमणकै क्रममा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलेले भारतलाई इरानसँगको सम्बन्धमा पुनर्विचार गर्न चेतावनी दिएकी थिइन्। आउने नोभेम्बर ४ सम्मको दिन तोक्दै उनले भारतलाई इरानसँगको सम्पूर्ण व्यापार स्थगित गर्न सल्लाह दिएकी थिइन्। उक्त सुझावलाई भारतले भने नर्कादै आएको छ।
_x000D__x000D_
संयुक्त राष्ट्रसंघको हालै सम्पन्न ७३औं महासभालाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले इरानसँगको उसको सम्बन्धलाई निरन्तरता दिने बताइसकेकी छन्। भारतमा इरानबाट ठूलो मात्रामा कच्चा तेल आयात हुँदै आएको छ। योसँगै भारतीय लगानीमा इरानमा बन्दै गरेको ‘चाबाहर बन्दरगाह’का कारण पनि इरान भारतका लागि एक महत्वपूर्ण साझेदारका रुपमा रहेको छ।
_x000D__x000D_
चीनले पाकिस्तानको ‘ग्वादर’मा निर्माण गर्दै गरेको बन्दरगाहलाई चुनौती दिने हिसाबले निर्माण भएको ‘चाबाहार’का कारण पनि इरान भारतका लागि एक महत्वपूर्ण साझेदार देशको रुपमा रहेको मान्न सकिन्छ। चीनसँगको बढ्दो आर्थिक र रणनीतिक प्रतिस्पर्धाका कारण पनि इरानसँगको सम्बन्ध भारत बिगारी हाल्ने मनस्थितिमा देखिँदैन।
_x000D__x000D_
सन् २०१४ मा क्रिमियालाई आफ्नो भू–भागमा गाभेको र २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा अमेरिकाले रुसमाथि आर्थिक नाकाबन्दी लगाएको छ। अमेरिका कुनै राष्ट्रको पनि रुससँग बलियो सम्बन्ध भएको देख्न चाहँदैन। अमेरिकाको यो वर्षको सुरक्षा रणनीतिले रुस र चीनलाई उसको सुरक्षा खतराको रुपमा व्याख्या गरेको अवस्था छ।
_x000D__x000D_
शीतयुद्ध कालमा एकअर्काका सहयोगी रहेका भारत र तत्कालीन सोभियत संघ, सोभियत संघको विघटनसँगै मुर्झाएको थियो। सोभियत संघको विरासत समालेको रुससँग भारतको समान स्तरको सम्बन्ध रहन नसकेकोमा पछिल्लो दिन भारत र रुस नजिक हुने छनक दिइरहेका छन्।
_x000D__x000D_
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उसले अख्तियार गर्दै आएको राष्ट्रवाद र संरक्षणवादको नीतिले भारतलाई पनि प्रभावमा पार्नसक्ने सम्भावना रहेको छ। हाल चीनसँग व्यापार युद्धमा रहेको अमेरिकाले उस्तै खालको रणनीति भारतलगायत अन्य देशमा पनि नअपनाउला भन्ने कुरामा भारत सचेत रहेको जानउ गत जुनमा प्रधानमन्त्री मोदीले चीनको उहान प्रान्तको भ्रमण गर्दा दिएका छन्।
_x000D__x000D_
अमेरिकामा रहेका भारतीय नागरिकहरु प्रति अमेरिका खासै सकारात्मक रहेको पाइँदैन। ट्रम्पले सार्वजनिक समारोहमा नै भारतीय आप्रवासी लगायत अन्य देशका आप्रवासीका कारण आफ्नो देशका नागरिकको रोजगारी खोसिएको आरोप लगाउँदै आएका छन्। यस्तै बौद्धिक मजदुरलाई अमेरिकी सरकारले दिँदै आएको एज१बी भिसामा कडाइ गर्ने बताएको थियो।
_x000D__x000D_
परिर्वतित अवस्थामा रहेको अमेरिकाको आन्तरिक र विदेश नीतिबाट आफ्नो देशको प्रतिरक्षा गर्न पनि ठूला देशहरुले अमेरिकाको विकल्पका रुपमा अन्य राष्ट्रसँगको सम्बन्धमा जोड दिन थालेको देखिन्छ।
_x000D__x000D_
रसियाली हतियार खरिद गर्दा चिनियाँ सेनालाई प्रतिबन्ध लगाएको अमेरिकाले एसिया प्यासेफिक क्षेत्रमा उसको महत्वपूर्ण साझेदारका रुपमा रहेको भारतलाई कस्तो व्यवहार गर्नेछ? त्यो निश्चय नै प्रतिक्षाको विषय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।