काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए अनसन बस्ने चेतावनी दिएका छन्।
डा केसीले केही समयका लागि सम्बन्धन स्थगित गरेर मात्र नहुने भन्दै खारेजीको माग गरेका हुन्। ‘केही समयका लागि स्थगत भनेर झुलाउने बहाना गरिँदैछ,’ उनले भने, ‘त्यसकारण सम्बन्धन खारेज नगरे २१ गतेबाट पुन: अनसन बस्छु।’
विगतका सम्झौता र चिकित्सा शिक्षा ऐन माथेमा प्रतिवेदन र सुझाव अनुसार नै आउनुपर्ने केसीले माग गरे।
त्रिवि कार्यकारी परिषद्ले काठमाडौं नेसनललाई दिएको सम्बन्धन हिजो स्थगन गरेको हो। कार्यकारी परिषद्ले गुपचुपमै साउन १२ गते काठमाडौं नेसनललाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो। तर, त्रिविको उक्त कदम बाहिर आएपछि सर्वत्र विरोध भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।