रोल्पा– रोल्पा नगरपालिका–३ चौर पानीमा तेह्रौँ दिनको प्रसाद खाएर एकै गाउँका १ सय १० जनाभन्दा बढी व्यक्ति बिरामी परेका छन्।
बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिएका हुन्।
‘प्रसाद खाएका गाउँभरिका मान्छेहरू एकपछि अर्को गर्दै बिरामी परे,खानामा समस्या देखिएको छ।’ डीएसपी विश्वकर्माले भने। रोक्काको घरमा बनाइएको दालभात, पुरी र अचारसहितको खाना खाएकामध्ये धेरैलाई पखाला र लगातार बान्ता, टाउको दुख्ने, ज्वरो, समस्या देखिएको हो।
चिकित्सकहरूले खानामा ‘फुड प्वाइजन’ भएको प्रारम्भिक अनुमान गरेका छन्। डीएसपी विश्वकर्माका अनुसार अहिलेसम्म अधिकांश बिरामीहरू उपचारपछि घर फर्किएका छन्।
स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा खाना खाएका मध्ये एक सय १० जना बिरामी परेको हुन्। वडा अध्यक्ष राजकुमार पुरीले रोकाको घरमा श्राद्धमा एक सय ५० जनाले खाना खाएका थिए। त्यसमध्ये एक सय १० जना बिरामी परेको जानकारी दिए।
बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने समस्या देखिएपछि स्थानीय खुमेल स्वास्थयचौकीमा पुर्याइएको थियो।
प्रहरीका अनुसार हालसम्म एक सय दुई जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य आठ जनालाई जिल्ला अस्पताल रेउघा रोल्पामा रेफर गरिएको सूचना अधिकारी चापागाईंले बताए। बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका रोल्पाका निमित्त प्रमुख सीता कुँवरले शनिवार गाउँमै बनाएको खानामा फुड प्वाइजन भएकाले करिब १ सय ५० जना प्रभावित भएको तर अहिले अधिकांश नियन्त्रणमा आएको बताइन्।
‘अहिलेसम्म फुड प्वाइजन नै भन्ने छ, पहिले हामीले बिरामीको उपचारमै ध्यान दिऔँ, अब यसको अनुसन्धानमा जुटेका छौँ, पानीमा समस्या हो कि अरू केही समस्या हो भनेर अनुसन्धान हुँदै छ, धेरै जना उपचार गरेर फर्किनुभयो, केही अझै उपचाररत हुनुहुन्छ, हिजो एकै पटक समस्या आउँदा गाह्रो भयो’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।