काठमाडौं– गण्डकी प्रदेशले हालै ल्याएको राइड सेयरिङ नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायीले शनिबार काठमाडौंमा चक्काजाम गरेका छन् ।
सात बुँदे मागसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले शनिबार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म एक घण्टा काठमाडौंमा चक्काजाम गरेका हुन् ।
उनीहरुले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । माग पूरा गराउन यसअघि यातायात व्यवसायीले सरोकार राख्ने सबै मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, प्रदेशका मुख्यमन्त्रीहरुलाई मागपत्र बुझाउने लगायतका कार्यक्रम गरेका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम राईले प्रदेश सरकारहरुले बनाएको ऐन नियमावलीका कारण सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलनमा उत्रिनुपरेको बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारका अनुसार सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले नियमावली ल्याउँदै छन् । प्रदेश सरकारले यसरी छुट्टै नियमावली ल्याउन नहुने व्यवसायीको माग छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।