काठमाडौँ –भन्सार छली गरी कपडा र धाराको पार्टपुर्जा ओसारपसार गरिरहेको ट्रकलाई प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिइएको छ।
साँगाबाट काठमाडौंतर्फ आइरहेको बा. ४ ख. ७६० नम्बरको ट्रक चेकजाँच गर्दा परालको भुसमुनि लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा कपडा तथा धाराको पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीले उक्त ट्रकमा करिब ७२ लाख रुपैयाँ बराबरको चोरी पैठारी गरिएका सामग्री फेला पारेको जनाएको छ।
ट्रकबाट बरामद गरिएको सामग्रीमा कुर्ता सुरुवाल ३८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० रोल, ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस र धाराको पार्टपुर्जा ३९८ पिस रहेका छन्।
सवारी साधनसहित दोलखाको कालिन्चोक गाउँपालिका–२ का ४७ वर्षीय चालक लक्ष्मण थामीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए।
प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले प्राप्त सूचनाका आधारमा चेकजाँच गर्दा उक्त सामान फेला परेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।