काठमाडौँ–काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक (सरकारी) र निजी विद्यालयहरूलाई आफ्नो विद्यालय परिसरमा अंग्रेजी भाषा अनिवार्य गरि नेपाली भाषामा संवाद गरे विद्यार्थीहरूलाई दिने दण्ड र जरिवाना तत्काल बन्द गर्न निर्देशन दिएको छ।
महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
महानगरपालिकाका अनुसार महानगरपालिकाअन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने गरेको भन्ने गुनासो प्राप्त भएको छ।
‘यसप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ, यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ।
महानगरपालिकाले यदि कुनै विद्यालयले यस्तो गरेको कार्य पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।