काठमाडौँ– सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा एनओसी नदिन सुझाएका छन्।
साथै उनीहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’दिन नहुनेमा जोड दिएका हुन्।
आइतबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै सांसदहरूले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन्।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले किट विश्वविद्यालयमा नेपाल सरकारले एनओसी दिन बन्द गर्नुपर्ने माग गरे। ‘केआइआइटी विश्वविद्यालयमा एनओसी बन्द गरियोस्’, उनले भने।
नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साह केआईआईटी विश्वविद्यालयमा कुनै न कुनै समस्या रहेको बताउँछिन्। सरकारले उक्त विश्वविद्यालयमा एनओसी दिने विषयमा समेत ख्याल गर्नुपर्ने उनको आग्रह छ।
‘जुन देशमा, जुन विश्वविद्यालयमा, जुन शिक्षण संस्थामा नेपाली विद्यार्थीहरू सुरक्षित छैनन्। सुरक्षाको अनुभुति छैन, प्रत्याभूति छैन त्यस्तो ठाउँमा विद्यार्थी पठाउनु हुन्न। एनओसी दिनुहुन्न भन्ने माग राख्न चाहन्छु’, उनले भनिन्।
अन्याय नेपाल सधैं सहन तयार नरहेको भन्दै उनले एनओसीको विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए। केआईआईटी विश्वविद्यालयमा विद्यार्थी नपठाउन अभिभावकलाई समेत उनको आग्रह छ।
‘किट विश्वविद्यालयमा आफ्ना छोराछोरी नपढाउनको लागि म यही सभामार्फत नेपाली अभिभावक सबैलाई अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु’, उनले भनिन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखर कुमार सिंहले पनि केआईआईटी विश्वविद्यालयमा उस्तै घटना चार महिनामै दोहोरिएको भनेर सरकारको ध्यानाकर्षण गरे।
नेपाल सरकारले समयमै सजग भएर आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनको आग्रह छ। आइन्दा फेरि अर्को घटना हुन नदिनका लागि लाग्नुपर्ने उनको आग्रह छ।
यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन। फेरि साह मृत फेला परेपछि सांसदहरूले उक्त विश्वविद्यालयमा पढ्नका लागि अनुमति नै नदिन सरकारलाई आग्रह गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।