जनकपुरधाम– श्रमिकको तलब नदिने धनुषाका तीन वटा उद्योगको खाता बन्द गरिएको छ ।
महेन्द्रनगरको एभरेष्ट पेपर मिल्स प्रालि, जानकी मेडिकल कलेज र बुद्ध प्रारंगिक मल उद्योगको बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको हो ।
उनीहरुले श्रमिक कर्मचारीको तलब भत्तासहितका सेवा सुविधा बक्यौता राखेको र श्रम अदालतको आदेश नमानेको कारण बैंक खाता रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय जनकपुरधामका प्रमुख दिवाकर भुजेलले जानकारी दिए ।
श्रम अदालतका फैसलाहरू कार्यान्वयन गर्ने उद्देश्यले खाता तथा सम्पत्ति रोक्का गरिएको उनले बताए । श्रमिकको बक्यौता रकम फर्छ्यौट नभएसम्म खाता सञ्चालन नहुने उनको भनाइ छ ।
एभरेष्ट पेपर मिल्सको उत्पादन दुई वर्षदेखि बन्द छ । यी उद्योगले दुई सय ५० श्रमिकको करिब १० करोड रूपैयाँ बक्यौता राखेको छ । जानकी मेडिकल कलेज र बुद्ध प्रारंगिक मल उद्योग सञ्चालनमै छ ।
श्रम तथा रोजगार कार्यालय जनकपुरधाममा चालु आर्थिक वर्षमा ४६ वटा श्रम उजुरी परेको छ । जसमध्ये १५ वटा एभरेष्ट पेपर मिल्सको छ । कार्यालयले एक सय १२ वटा उद्योग प्रतिष्ठानको निरीक्षण गरी श्रम ऐन कार्यान्वयनको स्थिति अनुगमन गरेका थिए ।
एक सय १२ वटा बाल श्रम निरीक्षण, एक सय १८ वटा श्रम अडिटसम्बन्धी निरीक्षण गरेका थिए । यस आर्थक वर्षमा वैदेशिक रोजगारीका लागि यस कार्यालयले ३० हजार ६२ जनालाई श्रम स्वीकृति दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।