सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट मृत्यु भएका जुम्लाका कालिबहादुर बुढाका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । वीरेन्द्रनगरको ऐरीचोकमा टायर बालेर सडक शुक्रबार देखि अवरूद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।
मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलन संघर्ष समिति संयोजक छत्रबहादुर शाहीले जानकारी दिए ।
जुम्लाको हिमा गाउँपालिका–४ का ५५ वर्षीय बुढाको वैशाख ७ गते वीरेन्द्रनगर सुर्खेतको रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मध्यपश्चिम यातायात प्रालिको फोर्स गाडीले ठक्कर दिएको थियो । प्रदेश अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे यस अघि मंगलबार र बुधबार निरन्तर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छलफल भए पनि निष्कर्ष ननिस्किए पछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् ।
घटनामा प्रहरीले गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का २४ वर्षीय तेज थामीमगरलाई नियन्त्रणमा लिइसकेको छ । परिवारले मृतकको शव अझै बुझेका छैनन् भने माग पुरा नभए सम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने स्थिति सामान्य बनाउनको लागि निरन्तर छलफलको पर्यास जारी राखेको जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।