ललितपुर- नेपाल र भुटानबीच वाणिज्य सम्झौता नहुँदा दुई देशबीचको व्यापार प्रवर्द्धनमा समस्या भएको भुटानका व्यापारीहरुले बताएका छन्।
ललितपुर उद्योग वाणिज्य संघको निमन्त्रणमा नेपाल आएका भुटानका व्यापारीहरुले यस्तो समस्याबारे अवगत गराए।
भुटान उद्योग वाणिज्य संघका महासचिव फुब छिरिङले भुटान नेपालसँग वाणिज्य सम्झौता गर्न सदैव तयार रहेको बताए। ‘व्यापारका लागि भुटान नेपालको उत्कृष्ट गन्तव्य भए तापनि दुई देशबीच व्यापार सम्झौता नहुँदा सोचे जति व्यापारमा प्रवर्द्धन हुन सकेको छैन,’ उनले भने, ‘भुटानी सरकार वाणिज्य सम्झौताका लागि सधैं चाहिरहेको छ।’ नेपालमा उत्पादन हुने हस्तकलाका सामग्री भुटानीहरुले धेरै मन पराउने बताउँदै उनले भारत भएर जाने हुँदा मूल्य अत्यधिक वृद्धि हुने गरेको गुनासो गरे।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले दुई देशबीचको व्यापार सम्झौताका लागि संघले पटकपटक सम्बन्धित निकायमा घचघच्याउने गरेको बताए।
भुटान नेपाली हस्तकला सामग्री निर्यातका लागि उत्तम गन्तव्य हो। भुटानसँग नेपालको भाषा, धर्म, संस्कृतिमा समानता छ। यसकारण पनि भुटानमा नेपाली हस्तकला, मूर्तिकला, ताम्रकला, प्रस्तरकलाको माग उच्च छ। तर दुई देशबीच व्यापार सम्झौता नहुँदा करको दरमा, निर्यात प्रवर्द्धन, बजार पहुँच, व्यापार प्रक्रियामा सहजीकरण र व्यापार प्रवर्द्धनमा अप्ठ्यारो हुने गरेको ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्रकारले बताए।
भुटानमा गत वर्ष नेपाल र भुटानबीच झन्डै ५२ करोडको व्यापार थियो। नेपालबाट १२ करोडका सामान भुटान निकासी भएका थिए भने भुटानबाट ४० करोडको सामान नेपालमा आयात भएको थियो।
भुटानबाट जिप्सम, कोइला, आयुर्वेदिक औषधि लगायतका वस्तु निकासी हुन्छ भने नेपालबाट ट्रान्सफर्मर, बिजुलीको पोल, हस्तकला, धातुकला, प्रस्तरकला, मूर्तिकलाका सामग्री, गरगहना, तयारी पोसाक लगायतका वस्तु निकासी हुने गरेको छ।
भ्रमणमा भुटानको २३ जिल्लाबाट ४३ व्यापारीको टोली आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।