काठमाडौं– निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय व्यय विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी मात्र नभएर नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ।
निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरुको तुलनामा एमाले सबैभन्दा धनी देखिन्छ।
एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ। आयोगका अनुसार उक्त पार्टीले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिब ७ करोड बचत गरेको छ। यस हिसाबले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ।एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो । एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै संसदको दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा एस र रास्वपा भन्दा पनि कमजोर देखिएको छ। कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेश गरेको छ। उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ। खर्च ४ करोड देखाएको छ।कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा हो। चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ संकलन गरेको थिय ।
त्यस्तै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र आम्दानीको हिसाबले पाँचौँमा देखिएको छ। माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ रहेको निर्वाचन आयोगले जनाएको छ। माओवादीले ५३ हजार घाटाको हिसाब देखाएको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने ६ करोड ५० लाख भएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको छ।रास्वपाको भने आम्दानीभन्दा झन्डै दोब्बर घाटामा छ।
संसदमा १० सीट रहेको नेकपा एस आम्दानीका हिसाबले भने एमालेपछिको धनी देखिएको छ। तर उसको खर्च पनि उत्तिकै भएर घाटाकै हिसाब पेश गरेको छ। नेकपा एसको गत आर्थिक वर्षको आम्दानी ४ करोड २४ लाख ५३ हजार रुपैयाँ छ। खर्च पनि ४ करोड ५७ लाख देखाएको छ।
आयोगका अनुसार हालसम्म ८८ वटा राजनीतिक दलले आम्दानी खर्चको विवरण बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।