एजेन्सी– सयुक्त राज्य अमेरिकाले चीन, मेक्सिको र क्यानाडाबाट आयात हुने सामानमा थप अतिरिक्त कर लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत, क्यानडाबाट आउने सामानमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा १० प्रतिशत कर लगाउने बताएका छन् । राष्ट्रपति ट्रम्पले युरोपेली युनियनका सामानमा पनि सो कर लगाउने बताएका छन् ।
उनले सो ब्लकले आफूलाई राम्रो व्यवहार नगरेको बताए । हजारौँ अवैध आप्रवासी अमेरिकामा प्रवेश गर्ने क्रममा क्यानडा र मेक्सिको प्रवेशद्वारको रूपमा प्रयोग भएकोमा ट्रम्पले आपत्ति जनाउँदै आएका छन् । उनले यी विषयमा पहिलेदेखि नै प्रतिबद्धता जनाउँदै आएको बताए । यी तीन देशबाट अमेरिकामा गत वर्ष ४० प्रतिशत सामान आएको थियो ।
यो निर्णयपछि अमेरिकामा समेत मूल्य वृद्धि हुने आशङ्का थपिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले आफूहरूले यस्तो नचाहेको भए पनि अमेरिकाको निर्णय अनुसार आफूहरूले पनि निर्णय गर्ने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।