काठमाडौं- ६३ वर्ष पुगिन्, गायिका तारा थापा।
_x000D_
_x000D_
हेर्दा लाग्दैन- उनलाई बुढ्यौलीले छोइसक्यो। किनकि अनुहारमा उस्तै ताजगी र उर्जा देख्न सकिन्छ। हँसिलो मुहार अनि स्वरमा उत्तिकै निखारपन।
_x000D_
_x000D_
‘फूल झरेपनि काँडा झर्दैन’, ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘सयथरी बाजा एउटै ताल’,‘कलिलो तामालाई सोध आमालाई’ जस्ता चर्चित गीतकी गायिका हुन् उनी।
_x000D_
_x000D_
करिब ४ वर्षअघि एकदिन आफ्ना स्तनमा गिर्खा आएको महसुस गरिन् उनले।
_x000D_
_x000D_
त्यो गिर्खा स्तनको मुन्टोमा पलाएको थियो।
_x000D_
_x000D_
छाम्दा गिर्खा भित्र पुरियो, मासुभित्र। उनी निकै अत्तालिइन्।
_x000D_
_x000D_
‘विश्व संगीत दिवस आइरहेको थियो। त्यसको सांगीतिक यात्रामा निकै नै व्यस्त रहन पुगेँ। त्यसकारण आफ्नो स्वास्थ्यलाई समय दिन सकिनँ', उनले सम्झिन्।
_x000D_
_x000D_
स्वास्थ्य जाँच गराउनुपर्छ भन्नेमा त उनी सचेत नै थिइन्। तर व्यस्तताले एक महिना यत्तिकै बित्यो।
_x000D_
_x000D_
अर्को महिना जब अस्पताल पुगिन्, क्यान्सर दोस्रो स्टेजमा पुगिसकेको थियो।
_x000D_
_x000D_
सुरुमा त विश्वास गर्न निकै गाह्रो भयो उनलाई। तर यथार्थ त्यही थियो।
_x000D_
_x000D_
‘क्यान्सर कत्ति छिटो फैलिने रहेछ, म छक्क परेँ,' उनी भन्छिन्, 'अब स्तन काटेर फाल्नुबाहेक अरु विकल्प छैन भन्ने लाग्यो।’
_x000D_
_x000D_
उनी सायद अलि छिटो चेकजाँचमा गएको भए स्तन काटेर फाल्नु पर्दैन थियो।
_x000D_
_x000D_
‘अप्रेसन गर्नुपर्छ भनेर सुरुमा निकै डराएँ तर त्योभन्दा बढी त केमो दिएपछि कपाल झर्दा डर लागेको थियो,' उनी सम्झिन्छिन्,‘भुइँ छोइहाल्ने जस्तो लामो कपाल त्यसरी झरेको पाउँदा मन नदुख्ने त कुरै भएन। कत्तिले त मलाई मेरो लामो कपाल देखेरै 'उ: त्यो तारा थापा हो' भनेर चिन्थे।'
_x000D_
_x000D_
कपाल झरेको तनाव यतिसम्म भएछ कि बरु मर्छु केमो गराउँदिन भन्ने सोचसमेत आएछ उनमा।
_x000D_
_x000D_
सुरुमा केमो गरेपछि १० दिन उनलाई निकै गाह्रो भयो। 'खानामा रुचि भएन, जे पनि गन्हाउने हुन्थ्यो,' भन्छिन्, 'केमोमा प्रयोग हुने रसायन हानिकारक हुन्छ भनेर डर लाग्थ्यो।'
_x000D_
_x000D_
स्तन क्यान्सरको शल्यक्रियापछि एउटा घटना उनी प्राय:सम्झिइरहन्छिन्।
_x000D_
_x000D_
भक्तपुर अस्पतालको बेडमा 'रेस्ट' गरिरहेकी थिइन् उनी। हङकङमा हुने सांगीतिक यात्रामा जान भिसा लागिसकेको थियो।
_x000D_
_x000D_
जब उनलाई क्यान्सर लागेको समाचार मिडियामा आयो, आयोजकले तारन्तार फोन गर्न थाले। 'सबै टिकट बिक्री भइसकेकाले तपाईं नगए कार्यक्रम नै रद्द हुन्छ भनेर रुन थाले,' उनले सुनाइन्।
_x000D_
_x000D_
आफूलाई क्यान्सर नै लागिहाल्छ भनेर उनले सोच्न पनि सकेकी थिइनन्। आफूले त्यसरी 'साइन' गरिसकेको 'प्रोजेक्ट'लाई कसरी धोका दिनु? उनको मन अमिलो भएर आयो।
_x000D_
_x000D_
डाक्टरलाई आफ्नो कुरा सुनाइन्। डाक्टरले उनलाई कार्यक्रममा जान हौस्याए। भरखरै शल्यक्रिया गरिएकाले उभिएर नगाउन र स्ट्यान्डमा माइक राखेर कुर्सीमा बस्न सुझाव दिए।
_x000D_
_x000D_
शल्यक्रिया गरेको १८ दिन मात्र भएको थियो। उनले कार्यक्रममा करिब ७ वटा गीत लगातार गाइन् उभिएरै।
_x000D_
_x000D_
‘कलाकार मान्छे, मैले त डाक्टरको सल्लाह नै भुलेँछु,' उनी हाँस्दै भन्छिन्, ‘मेरो नाम त गिनिज बुकमा लेखिनुपर्छ होला, अप्रेसन सकेर 'बेड रेस्ट'मै रहँदा सांगीतिक प्रस्तुति दिएकोमा।’
_x000D_
_x000D_
काठमाडौंमै हुर्केकी उनले यतै लेखपढ गरिन्।उनलाई अहिले लाग्छ- राजधानी जस्तो ठाउँमा त क्यान्सरको जोखिम बारे सोच्न सकेका छैनौं भने विकट गाउँका महिलाहरुको हालत कस्तो होला?
_x000D_
_x000D_
रोग लुकाएर बस्दा ढिलो भएमा आफूलाई नै गाह्रो हुने उनको अनुभव छ।
_x000D_
_x000D_
'आफूलाई डरलाग्दो रोग लाग्यो भनेर डराउनुहुँदैन।आफूलाई विश्वासगर्न छाड्नुहुन्न,' उनी सुझाउँछिन्, 'ठिक हुन्छ भनेर मनमा सोच्नुपर्छ। लक्षण देखापरे हेलचेक्र्याइँ नगरौं।'
_x000D_
_x000D_
अहिलेत उनी स्वस्थ छिन्।
_x000D_
_x000D_
६–६ महिनामा चेकअपको लागि अस्पताल जानुपर्छ।
_x000D_
_x000D_
‘घरपरिवार, चिकित्सक तथा शुभेच्छकबाट धेरै माया तथा प्रार्थना पाएँ, त्यसैले पनि छिटो निको भएँ होला,’उनी अब ढुक्क छिन्।
_x000D_
_x000D_
पछिल्लो पटक २०७० सालमा गीति एल्बम निकालेकी उनलाई पुरानो गीतहरुको म्युजिक भिडियो बनाउने इच्छा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।