काठमाडौं– आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्दै अन्तर्वार्ता दिएका नवराज अर्यालसँग प्रहरीले सोधपुछ गरेर उनले भ्रम फैलाउन खोजेको निष्कर्ष निकालेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले बताएका विषयहरु घटनास्थलका विषयसँग मेल खाएका छैनन् भने उनले लिएका नामबारे पनि प्रहरीले पहिल्यै अनुसन्धान गरिसकेको थियो।
अर्यालले पत्रकार ऋषि धमलासँग टेलिभिजन अन्तर्वार्ता दिँदै मोटरसाइकलमा गएका बेला आफूले पन्तमाथि बलात्कार हुँदै गरेको देखेको दाबी गरेका थिए।
उनले आफू त्यसबेला खानेपानीमन्त्री विना मगरको गाडी चलाउने गरेको बताउँदै कञ्चनपुर गएका बेला त्यो घटना देखेको दाबी गरेका थिए। त्यसपछि आफूमाथि पटक-पटक आक्रमण भएको दाबी थियो।
प्रहरीले उनकी श्रीमतीलाई समेत सीआईबीमा बोलाएको छ। नक्कली लाइन्सेस भएको खुलेपछि जागिरबाट बाहिरिएपछि श्रीमान् विक्षिप्त हुने गरेको उनले पनि बयान दिएको प्रहरीले जनाएको छ।
अहिले उनले कसैको उक्साहटमा हो वा अन्य कारणले किन यस्तो दाबी गरे भन्ने विषयमा छानबिन भइरहेको बोगटीले बताए। प्रहरीले यो विषयमा अन्तर्वार्ताकार धमलासँग पनि सोधपुछ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।