नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण ताका ३३ प्रतिशत महिला प्रतिनिधित्वको विषय उठाउँदा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओलीले ‘यी आइएनजिओले उठाउने विषय हुन्, धेरै ‘ट्याऊँ ट्याऊँ’नगर्नुस्’, भनेको अभिव्यक्ति निकै चर्चामा थियो। तर, भर्खरै सम्पन्न संसदका विषयगत समितिका सभापतिमा नेकपाले राष्ट्रिय सभामा ५० र प्रतिनिधि सभामा ७५ प्रतिशत महिला सांसदको प्रतिनिधित्व गराएको छ। यति छोटो समयमा नै महिला प्रतिनिधित्वको विषयलाई लिएर नेकपा यति गम्भीर बनेको होला त? नेकपाकी महिला नेतृ एवम् राष्ट्रिय सभा सांसद् विमला राई पौड्यालका अनुभवका विषयमा नेपाल लाईभकी पुष्पा केसीसँग गरेको कुराकानीमा आधारित आलेखः
_x000D__x000D_
निर्वाचन आयोग र संविधानले नै ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरिसकेको छ। त्यसैले यसलाई कुनै पार्टीले मान्ने वा नमान्ने भनेर हुँदैन। नेपाल कम्युनिस्ट पार्टी एकीकरण गर्दा त्यतिबेला धेरै चर्चामा पनि आयो, ३३ प्रतिशत महिला प्रतिनिधित्वको विषय। प्रधानमन्त्री ज्यूबाट पनि ‘ट्याउँ ट्याउँ’ शब्द कुन परिपेक्ष्यमा कसरी निस्कियो, त्यो कुरा अझै पनि स्पष्ट हुन सकेको छैन।
_x000D__x000D_
उक्त शब्दले बजार पनि तातायो। पार्टी एकीकरणको प्रक्रियामा रहेकाले ३३ प्रतिशत महिला समेट्न नसकिने बताइएको थियो त्यसबेला। तर, अब आउने महाधिवेशनमा त्यसको सुनिश्चितता गर्ने प्रतिवद्धता स्वयम् पार्टी अध्यक्षले नै जनाउनु भएको छ। महाधिवेशनमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनैपर्छ। नभएर धरै छैन।
_x000D__x000D_
राज्यका हरेक तह र संरचनामा ३३ प्रतिशत महिला प्रतिनिधित्वको विषय वर्तमान राष्ट्रपतिले नै टेबुल गर्नुभएको विषय हो। नेकपा पनि त्यसबाट पछाडि हटेको भन्ने मलाई लाग्दैन। कहिलेकाँही परिवेश त्यस्तै हुन्छ। महिला आरक्षणको सवाल आइएनजिओ÷एनजिओ भन्दापनि महिला नेतृत्वले उठाएको विषय हो। पार्टी एकीकरणका बेला प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आयो भन्दैमा पार्टी ‘ब्याक’ भयो भन्ने म मान्दिन। यस्तो हुनै सक्दैन। पार्टी व्याक हुने अवस्था छैन।
_x000D__x000D_
अहिले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिमा नेकपाका भागमा परेका ८ वटामध्ये ६ समितिका सभापतिमा महिला सांसद सभापति बनाएर ७५ प्रतिशत महिलाको प्रतिनिधित्व भयो भनेर म साह्रै हौसिएकी पनि छैन। हिजो अनुदार भएको र आज साह्रै उदार भयो भन्ने पनि म मान्दिनँ। समयको आवश्यकता अनुसार सक्षम नेतृत्व देखा परेको हो।
_x000D__x000D_
‘मिनी संसद्’कै रुपमा रहेका विषयगत समितिमा महिला नेतृत्व आउनु सुखद् पक्ष हो। महिला समावेशितामा पार्टी उदार भयो भन्दा पनि सक्षम नेतृत्व देखियो। वहाँहरूले काम गर्न सक्नुहुन्छ भनेर नै नेकपाले ल्याएको हो। अहिले समितिमा चयन हुनु भएका महिला नेतृत्वबाट समितिको सुशासन, कानून बनाउने प्रक्रिया र लैङ्गिक संवेदनशीलतामा राम्रो नतिजा आउँछ भन्ने लाग्छ। तर, कार्यकारी तह र राजनीतिक नेतृत्वमा अझ धेरै महिला ल्याउनुपर्छ।
_x000D__x000D_
महिला सांसद्ले संसदमा आवाज राख्न सक्छन्। कानून पनि संशोधन गर्न प्रस्ताव ल्याउन सक्छन्। तर, कार्यकारी भूमिका नभएसम्म हामी (महिला)ले ल्याएको कानून कार्यान्वयन गर्ने निकाय संवेदनशील हुन कठीन छ।
_x000D__x000D_
अहिले पनि महिला नेतृत्वलाई काम गर्न चुनौती छ। सबैले महिला नेतृत्व स्वीकार गरिसकेको अवस्था छैन। सुधार भने हुँदै गएको छ। विगतमा महिला नेतृत्वको कुरै नसुन्ने चलन थियो। अहिले महिला नेतृत्वको कुरा सुन्न थालिएको छ। महिला नेतृत्वलाई स्वीकार गर्ने अवस्था आएको छ। अझै पनि महिलाले गर्न सक्छन् र? भन्ने प्रश्न गरिन्छ। जबकि, पुरुषलाई कसैले सक्छन् भनेर प्रश्न नै गर्दैन। त्यो मानसिक तनाव पनि महिलाले खेप्नु परेको छ। र, पुरुषको भन्दा बढी काम गरेर देखाउनुपर्छ भन्ने पनि भावना पनि महिलामा विकास हुँदै गएको छ।
_x000D__x000D_
यो समाजमा कति पुरुष नेतृत्व फेल भएका छन्। तर, त्यो कुरा कहीँ आउँदैन। महिला नेतृत्वमा गएपछि सानो कमजोरी भयो भने सघाउनेभन्दा महिला भएका कारण बिग्रियो भन्ने मानसिकता अझै छ। विस्तारै परिवर्तन पनि भइरहेको छ।
_x000D__x000D_
सरकारले आफू अनुकूल निर्णय गराउन सजिलो होस् भनेर महिला सांसदलाई संसदका विषयगत समिति सभापतिमा बढी स्थान दिएको भन्ने टीप्पणीमा मलाई विश्वास लाग्दैन।
_x000D__x000D_
जति पनि अहिले सभापति हुनुहुन्छ, वहाँहरु पुरुषले जे भन्यो त्यो मान्ने खालको हुनुहुन्न। आफ्नो विवेकले नेतृत्व गर्न सक्षम हुनुहुन्छ। वहाँहरुको योगदान हिजो पनि थियो र आज पनि छ। धेरै अनुभव नभएका र भर्खरै जितेर आउनु भएका केही सांसद पनि हुनुहुन्छ। सुरुवातमा केही अलमल होला।
_x000D__x000D_
संसदीय समितिका सभापतिमा धेरै महिला सांसदको प्रतिनिधित्व गराएको देखाएर आगामी दिनमा कार्यकारी पदमा महिला प्रतिनिधित्व कम गराउने रणनीतिको रुपमा म यसलाई लिन चाहन्न। नेतृत्वले सारा खिचडी पकाएर निर्णय गरेको हो जस्तो पनि लाग्दैंन। यो परीक्षणको घडी हो। हिजो ६ प्रदेशमध्ये कुनैमा पनि महिलालाई नेतृत्व दिन सकेनौं। हामीले राम्रो अवसर गुमायौं।
_x000D__x000D_
महिला नेतृ सक्षम नभएका कारण कुनै पनि प्रदेशको मुख्यमन्त्री महिला नभएको होइन। तत्कालीन नेकपा एमालेभित्र धेरै महिला साथी केन्द्रीय कमिटीमा पुग्नु भएको पनि थियो। तर प्रदेश सरकार गठन गर्दा दुई पार्टी मिल्ने अवस्थामा पुगेको हतारोले गर्दा प्रदेश सरकारमा महिला नेतृत्वको विषय ओझेलमा परेको देखियो।
_x000D__x000D_
मुख्यमन्त्रीको दाबेदारकै रुपमा हेरिएको व्यक्ति मुख्यमन्त्री हुन नसक्दा हामी रुष्ट बन्यौं। ध्यानाकर्षण गरायौं। महिला आन्दोलन मात्र होइन, देशको समग्र आन्दोलन र परिवर्तनमा महिलालाई आगाडि राखेर नै नेतृत्व लिएको पार्टी नेकपा हो। यस्तो बेला सरकार हाक्ने कार्यकारी पदमा महिला पु¥याउन नसक्दा हामीलाई दुःख लागेको हो।
_x000D__x000D_
तर, अब त्यतिले मात्र चल्दैन। फेरी पनि अरु ठाउँ आउँछ। पार्टी एकीकरणको सन्दर्भ नभएको भए के हुन लाग्यो भनेर आत्तिने नै अवस्था आउथ्यो होला। दुई पार्टी एकीकरण हुन लागेको सन्दर्भमा महिला नेतृत्वमा प्रदेश सरकार गठन गर्ने विषय नमिलेको हो। राजनीतिक दलमा विगतदेखिकै समस्या छ, माथिल्लो तहको नेतृत्वमा महिला कम पुग्ने अवस्था छ। तर, अब पक्कै सुधार हुन्छ ।
_x000D_अबको परीक्षण भनेको अहिले महिला जुन नेतृत्व तहमा आइरहेका छन्, उनीहरुको कामलाई सम्मान र सहयोग गर्दै टिकाउने अभिभारा पनि दलकै हो। महिला नेतृत्वमा विश्वास गर्नुपर्यो। काम गर्ने ठाउँ दिनुपर्यो, सहयोग गर्नुपर्यो।
_x000D__x000D_
अब, ७ वटा आयोग बन्दैंछन्। ती आयोगमा ३३ प्रतिशत महिला राखिन्छ कि राखिँदैंन। त्यो परीक्षणको घडी हो। संवैधानिक आयोगका सदस्यमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुन्छ कि अझै, एउटा महिला भन्ने स्थिति आउँछ?
_x000D__x000D_
सबै राजनीतिक दलमा महिला समावेशिताको विषय डरलाग्दो प्रवृत्ति देखिएको छ। महिला, जनजाति, दलित, मुस्लिम, भनेपछि कोटा पु¥याउने रुपमा मात्र हेरिन्छ। परीक्षणको घडिमा इमान्दार र सचेत हुनुपर्दछ। राजनीतिक दलमा महिला नेतृत्व स्थापना गर्दा दल, राष्ट्र कमजोर हुँदैन भनेर विश्वास गर्नैपर्दछ। यसले महिलालाई मात्र होइन, देशको सुशासन, संमृद्धि र राष्ट्रनिर्माणमा समेत फाइदा हुन्छ। यही विश्वासका साथ परीक्षणको घडी पास गर्नुपर्ने चुनौती दलका सामु छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।