सुर्खेत- विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको छ। परीक्षाको दिन विद्यार्थीको उपस्थिति अन्य समयमा भन्दा बढी हुनुपर्ने हो। तर, विद्यालय सुनसान छ। परीक्षा सञ्चालन भइरहेका कारण विद्यालयको वातावरण शान्त र सुनसान भएको भने होइन, विद्यार्थी नै नभएकाले शान्त भएको हो।
_x000D_
_x000D_
झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो। सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, घोयलपानीस्थित पर्वत प्राथमिक विद्यालयमा यतिबेला यही दृष्य देख्न पाइन्छ। विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको छ। जहाँ, जम्मा दुई जना विद्यार्थी मात्रै उपस्थित छन्। चाखलाग्दो कुरा त के छ भने दुई विद्यार्थीको परिक्षकको रुपमा दुई जना शिक्षक खटिएका छन्।
_x000D_
_x000D_
कक्षा तीनसम्म पढाई हुँदै आएको उक्त विद्यालयमा यस वर्ष ६ जना विद्यार्थी मात्रै भर्ना भएका थिए। जसमध्ये अहिले दुई जना विद्यार्थी नियमित विद्यालय आउँछन्। र, उनीहरुलाई पढाउन दुई जना शिक्षक खटिएका छन्।
_x000D_
_x000D_
करिब तीन दशकदेखि नियमित सञ्चालन भइरहेको विद्यालय विद्यार्थी नहुँदा यतिबेला सुनसान देखिन्छ। पछिल्ला केही वर्षदेखि लगातार विद्यार्थी संख्या घट्दै आएको प्रधानाध्यापक तप्तबहादुर शाही बताए। ‘यस वर्ष त विद्यार्थीको संख्या अनपेक्षित रुपमा घटेको छ।’, उनले भने।
_x000D_
_x000D_
गुर्भाकोटकै विकट मानिने घोयलपानीको बस्ती सानो छ। विद्यालय आसपासमा अहिले ९ वटा मात्रै घर छन्। तर सानो बस्तीमा स्वभाविक रुपमा जनसंख्या कम हुने भन्दै प्रधानाध्यापक शाही विद्यार्थीको संख्यामा कमी हुनुलाई अन्यथा रुपमा लिँदैनन्। कक्षा तीनसम्म पढाई हुने विद्यालयको एउटा कक्षामा त विद्यार्थी नै छैनन्। कक्षा एकमा एक जना र कक्षा तीनमा एक जना गरी दुई जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा दुई मा विद्यार्थी नै छैनन्। दुई जना शिक्षक यतिबेला तिनै दुई जना विद्यार्थी पढाएर बसिरहेका छन्।
_x000D_
_x000D_
विद्यालयमा विद्यार्थीको संख्यामा कमी आउनुको कारण विद्यार्थीहरु अभिभावकसँगै भारत जानु रहेको औंल्याउछन् प्राधानाध्यापक शाही। भन्छन्, ‘विद्यालयमा भर्ना भएका ६ जनामध्ये केही विद्यालय छोडेर अन्यत्र गए। केही भने आफ्ना अभिभावकसँगै भारततिर गएको बुझिएको छ।’ बढ्दो बसाइसराइसँगै बस्ती नै पातलिँदै गएको भन्दै उनले यसको असर विद्यालयमा परेको जनाए।
_x000D_
_x000D_
गुभाएकोटकै वडा नम्बर १० हनिमानमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पनि यही समस्या छ। कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा यो वर्ष २५ जना विद्यार्थी भर्ना भएका थिए। तर, शैक्षिक सत्रको पहिलो ५ महिनासम्ममा विद्यालयमा आधाभन्दा बढी विद्यार्थी आउन छोडेका छन्। तीन जना शिक्षक कार्यरत यस विद्यालयमा १०/१२ जना मात्रै विद्यार्थी नियमित रुपमा विद्यालय आउने गरेका छन्।
_x000D_
_x000D_
यो समस्या नेपालका अधिकांश विकट ग्रामिण भेगका सामुदायिक विद्यालयहरुका लागि नयाँ समस्या भने होइन। कतिपय विद्यालयमा शिक्षक भएर पनि विद्यार्थी छैनन् भने केही विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक निकै कम छन्। गुर्भाकोट नगरपालिकाकै १५ वटा विद्यालयमा यस्तो समस्या रहेको गुर्भाकोट नगर शिक्षा शाखाका प्रमुख सुरेन्द्र रावत बताउँछन्। उक्त समस्या समाधानका लागि नगरपालिकाले विद्यालय गाभ्ने योजना बनाएको रावतले जानकारी दिए।
_x000D_
_x000D_
शैक्षिक सत्रको सुरुमा सरकारले ‘विद्यालय भर्ना अभियान’ चलाएर विद्यालय जाने विद्यार्थीको संख्यामा वृद्धि भएको बताएको थियो। तर, शैक्षिक सत्रको मध्य पुग्नु अगावै विद्यालयमा विद्यार्थीको संख्या घट्नुले सरकारलाई विद्यालयमा विद्यार्थी टिकाइराख्ने चुनौती थपिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।