काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने जनाइएको छ ।
महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् भने दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।