काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।
आज बिहान ८ बजे बोलाइएको नगरसभाको बैठक बस्न नसकेको हो। आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो। तर बैठकमा मेयर बालेन शाह नै नआएको काठमाडौं महानगरपालिका १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए।
उनले मेयर शाहले फेसबुकमा स्टाटस राखेर नगरसभा स्थगित गरेको भनेर खबर पाएको बताए। मेयर शाहले नगरसभा सदस्यहरुसँग बैठकमा फेस नै नगरी नगरसभा स्थगित गरेको आरोप लगाए।
तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बैठकमा छलफल गर्न तयारी नपुगेकाले नगरसभा स्थगित गरिएको बताए। अब अर्को बैठक मेयर शाहले कहिले अनुकुल हुन्छ त्यतिबेला बोलाउने उनले बताए।
तर मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस–एमालेले बैठक रोकेको आरोप लगाएका छन्। एमाले–कांग्रेसले बीपि कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भनेर माग राखेको तर आफूले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको नाममा गरौं भनेको उल्लेख गरेका छन्।
कांग्रेस–एमालेलाई नेपालको क्रान्तिमा चार सहिदहरुभन्दा धेरै कांग्रेस–एमालेका नेताहरूको योगदान धेरै देखेर आज बस्ने नगरसभा बैठक रोकेर गएको आरोप लगाए। गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन्। नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।