काठमाडौं– सरकारले कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तामा अर्थले दियो थप ४ अर्ब ५ करोड खर्च गर्न महालेखा नियन्त्रक कार्यालयमार्फत् सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिएको छ।
सोमबार अर्थमन्त्रालयले गृह मन्त्रालयलगायत विभिन्न निकायबाट सामाजिक सुरक्षा भत्ता, पारिश्रमिकलगायतमा थप बजेट निकासा माग भई आएअनुसार अख्तियारी प्रदान गर्नका लागि मन्त्रीस्तरीय निर्णय गरेको हो।
सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक कर्मचारी र पारिश्रमिक पदाधिकारीमा खर्च शीर्षकमा विनियोजन भएको रकममध्ये कुनै क्रियाकलापमा रकम अपुग हुने र त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी रहने अवस्थामा क्रियाकलापहरुबिचमा खर्च समायोजन गरी भुक्तानी निकासा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।
उल्लेखित भुक्तानी निकासाबाट पनि अपुग भएको अवस्थामा कर्मचारीको पारिश्रमिकमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोड गरी जम्मा ४ अर्ब ५ करोड खर्च गर्नेगरी महालेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिने निर्णय भएको अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।