बुटवल- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताएका छन्। उनले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताए।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।
पूर्व गृहराज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो। स्व कँडेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वीनिर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद थिए।
कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेयश त्रिपाठीले निजामती कर्मचारी सेवा ऐन तत्काल पारित गर्नुपर्ने बताए। उनले नेपाल–भारत सीमा क्षेत्रमा हुने कुनै पनि क्रियाकलाप मधेसको सहमतिमा हुनुपर्ने समेत बताए।
सङ्घीय सरकारको एक करोड, पाल्हीनन्दन गाउँपालिकाको १३ लाख गरी कुल एक करोड १३ लाख रुपैयाँ लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कँडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।