दाङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको बताएका छन्।
दाङका कम्युनिष्ट नेता श्रीमणि आचार्यको सालिक अनावरण समारोहमा सहभागी हुन दाङ आएका उनले धेरै राजनीतिक दल हुँदा अस्थिरता बढ्ने भन्दै विकास र समृद्धिका लागि दुई वटा दलमात्रै हुनुपर्ने बताए।
‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ’, महासचिव पोखरेलले भने, ‘जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ। त्यसैले दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ।’
नयाँ दलले देशलाई निकास दिन नसक्ने भन्दै उनले पुरानै दलमा सुधार खोज्नुपर्ने बताए। ‘नयाँ दलबाट केही हुँदैन’, उनले भने, ‘पुराना दलमा भएको खराब प्रवृत्तिलाई सुधारेर अघि बढेमात्रै देशको प्रगति सम्भव छ।’
महासचिव पोखरेलले आजै तुलसीपुर उपमहानगरपालिका- ११ मालेडाँडामा राखिएको दाङका संस्थापक कम्युनिष्ट नेता स्वर्गीय श्रीमणि आचार्यको सालिक अनावरणसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।