काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटमाथि आज पनि असन्तुष्टि पोखेका छन्।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटको विषयमा एकदुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने भन्दै प्रश्न गरेका हुन्।
उनले एक दुई जनाको मुख हेरेर वा हामी सरकारमा छौं भनेर सन्तोष नमान्ने टिप्पणी गरे। अध्यक्ष ओलीले भने, ‘एकदुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठीक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर, हामी सरकारमा छौं भनेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौं। त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने?’
उनले एमालेले नेतृत्व गरेका मन्त्रालयको अवस्थाबारे पनि हेर्न आग्रह गरे। उनले थपे, ‘हामीले नै चलाइरहेको मन्त्रालयको स्थिति के छ, कस्तो छ विनियोजन? त्यो पनि हेर्नुपर्ने हुन्छ। बाहिर बजारमा भन्दै हिँड्ने होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।