काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफू किन बनेँ भन्ने नै थाहा नभएको टिप्पणी गरेका छन्।
कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई केका लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि थाहा नभएको दाबी गरेका छन्।
महामन्त्री थापाले भने, ‘सरकार मूलतः एमाले र माओवादी पार्टीहरुको छ। माओवादीको प्रमुख, जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन। किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन। केको लागि हुनुभएको हो, के गर्ने हो? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले? केही पनि छैन।’
उनले प्रचण्ड जसरी पनि प्रधानमन्त्रीमात्रै बन्ने खेलोफड्कोमा लागेको आरोप लगाए । महामन्त्री थापाले एमालेले प्रचण्ड नेतृत्वको सरकारको स्वामित्व नलिन नै जुनियर मन्त्रीहरु पठाएको जिकिर गरे।
उनले भने, ‘एमाले त सरकारमा छ, छैन ? सरकारमा छ पनि, छैन पनि। सरकारमा उसले जुनियर मन्त्रीहरू पठाएको छ। हेर्दाखेरि मात्रै जुनियर मन्त्रीहरू पठाएको होइन। किन पठाएको हो भने सरकारमा आफू बस्ने पनि, तर यो सरकार मेरो हो भनेर जिम्मा नलिने।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।