काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड देउवालाई बूढानीलकण्ठस्थित निवासमै पुगेर भेटेका हुन्।
उनीहरुबीच करिब ४० मिनेट कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बिहान सवा ९ बजे प्रधानमन्त्री देउवा निवास पुगेका थिए।
प्रतिनिधि सभा बैठक बोलाइएको छ। आज सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ। सोही कारण पनि सहमति खोज्नका लागि प्रचण्ड देउवासँग छलफल गर्न पुगेका हुन्।
सदनमा कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ। संसदीय समिति गठन नगरेसम्म सदन अवरोध कायमै राख्ने कांग्रेसको भनाइ छ। कांग्रेसको आजदेखि सडक प्रदर्शन पनि सुरु हुँदैछ।
कांग्रेसले छानबिन समिति बनाउँदा व्यक्ति अर्थात् सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटेरै राख्नुपर्ने अडान लिएको छ। सत्ता पक्ष त्यसमा तयार नहुँदा सहमति हुन सकिरहेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।