काठमाडौं- प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ।
बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने लगायतका १४ वटा कार्यसूची रहेको छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने छन्।
तर नेपाली कांग्रेस लगायतका दलहरुले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने भन्दै विरोध गर्दै आइरहेकाले बैठक कसरी अगाडि बढ्छ भन्ने विषय भने अन्यौल नै देखिन्छ। नेपाली कांग्रेस लगायतका दलले छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताइरहेका छन् भने सत्ता पक्ष पेलेरै भए पनि बहुमतका आधारमा अगाडि बढ्ने नीतिमा छ।
कार्यसूची अनुसार प्रधानमन्त्रीले पेश गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने छ। त्यसपछि प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। सभामुखले प्राप्त संशोधनहरू र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।