काठमाडौँ- आम जनता पार्टीले विदेशमा गएका कामदारबाट लिइएको अवैध रकम फिर्ता दिलाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले कामदारबाट लिइएको अवैध रकम फिर्ता र बेथिति विरूद्ध सातै प्रदेशमा विरोधका कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने निर्णय गरेको छ।
बैठकले विदेशी नागरिकता लिएकाको सम्पति कति र कहाँ छ भन्नेबारे खोजबिन गरी कब्जा गर्न सरकारलाई जनदबाव दिने निर्णय समेत गरेको अध्यक्ष साहले बताए।
‘भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका सङ्यन्त्रको भूमिका प्रभावकारी भएन। त्यसैले बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन सरकारलाई माग गर्ने र लघुवित्त र सहकारीको रकम अपचलन गर्ने विरुद्ध पीडित जनताको पक्षमा जारी सङ्घर्षलाई थप सशक्त, प्रभावकारी एवं देशव्यापी बनाउने निर्णय गरिएको छ,’ अध्यक्ष साहले भने।
बैठकले शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न पुनः माग गरेको छ। बैठकले उपत्यका विशेष कमिटीसहित सातै प्रदेशका इञ्चार्जलाई विभिन्न जिम्मेवारी समेत तोकेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।