काठमाडौं- सहकारीको रकम अपचलनका विषयमा बनाइने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरुको काँधमा पुगेको छ। शनिबारको प्रयासमा पनि कार्यदलले टुंग्याउन छानबिन समितिको टीओआर बनाउने जिम्मा शीर्ष नेताहरुलाई दिइएको हो।
आइतबार शीर्ष नेताहरुको बैठक बसेर टीओआरको टुंगो लगाउने नेपाली कांग्रेसका नेता एवं कार्यदलका सदस्य जीवन परियारले बताए। यो विषय टुंगो लगाउन शनिबार साँझ पनि शीर्ष नेताहरुको बैठक बसेको थियो। तर बैठक एजेन्डामै प्रवेश नगरेपछि आइतबार बसेर टुंग्याउने निर्णय भएको थियो।
छानबिन समितिको टीओआरबारे कार्यदल सहमति नजिक पुगेको कार्यदलका सदस्यहरुको दाबी छ। शनिबार दिउँसो बसेको कार्यदलको बैठकबाट सबै जना सहमति नजिक पुगेको कार्यदलका संयोजक एवं कानुन मन्त्री पदम गिरीले बताए।
‘पहिले यो-यो सहकारीबाट रकम अपचलन भएको र यी–यी व्यक्तिले अपचलन भएको भनेर लेख्नुपर्छ भन्ने मागका साथ प्रमुख प्रतिपक्षी दलले विषय उठाउँदै आउनुभएको थियो,’ गिरीले भने, ‘यता व्यक्तिको नामभन्दा पनि संकटग्रस्त सहकारीबारे छानबिन समिति बनाउनुपर्छ भन्ने सत्तापक्षको भनाइ थियो। आज हामी जुन–जुन सहकारीबाट रकम अपचलन भएको छ र जुन–जुन कम्पनीबाट रकम अपचलन भएको छ, ती सबैको नाम उल्लेख गर्ने र छानबिन समिति बनाउन सकिन्छ भन्नेमा पुगेका छौँ।’
शनिबार नै बसेको कार्यदलको बैठकले गोर्खा मिडिया प्रालि र उसले रकम लगेको सहकारीका विषयमा छानबिन गर्ने गरी कार्यादेश (टीओआर) बनाउने समझदारी गरे पनि यसलाई अन्तिम रुप शीर्ष नेताले दिने भनिएको थियो ।
तर कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्यमा समस्या देखिएको भन्दै नआएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको शीर्ष नेताको बैठकबाट टुंगोमा पुग्न नसिकएको कार्यदल सदस्य शिशिर खनालले बताए। शीर्ष नेताको बैठक आइतबार विहान ९ बजे बस्ने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।