काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको बताएका छन्।
शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागममी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनल संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन र मर्यादाहीन भएको बताए।
संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको सापकोटाले बताए ।
‘संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा हो, सुशासनको राम्रो महत्वपूर्ण संवाहक हो। तर त्यहाँ आज राम्रोसँग गतिविधि अघि बढेका छैनन्। संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन। त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ’, उनले भने, ‘ओज र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओज र गरिमा नभई आफ्नो साख गिराउँदैछ।’
उपाध्यक्ष सापकोटाले देश अहिले छटपटि, उकुसमुकुस वातावरणमा रहेको बताए। उनले देशमा विचारहीनको स्थिति सिर्जना भएको पनि जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।