काठमाडौं– सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ।
हिजोदेखि नै लगातार छलफल गरे पनि दुवै पक्षले सहमति जुटाउन सकिरहेका छैनन्। शुक्रबार कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति नजुटे पनि छलफल सकारात्मक भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनले भने, ‘आज कांग्रेस थप लचक भएर आएको छ, उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔं भन्ने ढंगको प्रस्ताव ल्याउनुभएको छ। त्यसबारेमा हामी दुवै छलफल गरेर फेरि बस्ने कुरा भएको छ।’
आज प्रतिनिधि सभा बैठक बोलाइएको छ। तर यता कार्यदलमा सहमति जुट्न नसक्दा बैठक के हुने हो भन्ने अन्योल छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।