हेटौँडा- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भए पनि व्यवस्था खराब नभएको बताएका छन्। प्रजातान्त्रिक विचार समाज मकवानपुरले बिहीबार हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा उपसभापति गुरुङले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राखे।
उनले भ्रष्ट्राचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न कांग्रेस सधैँ तयार रहेको बताए। ‘कांग्रेसले भष्ट्रचारी विरुद्ध आवाज उठाउँदै आएको छ। त्यसको सुरुवात हामी आफैँबाट गर्न आवश्यक छ,’ उनले भने।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्रजातन्त्रलाई थप सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजजस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरे।
समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्र, सङघीय शासन व्यवस्था र जनताका समृद्धिका पक्षमा आवाज उठाई प्रजातान्त्रिक विचारलाई संस्थागत गर्दै लैजानुपर्ने बताए।
समाजका पूर्वकेन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले बौद्धिक व्यक्तित्व रहेको समाजले देशमा संकट छाएको बेला उल्लेख्य भूमिका खेल्दै आएको भन्दै त्यसलाई थप सशक्त बनाउँदै लैजानुपर्ने धारणा राखे।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।